काठमाडौं – कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह समयको प्रतिबिम्ब लोकार्पण भएको छ ।

कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कल्पलता साहित्य परिवारका अध्यक्ष नरबहादुर बिसी, प्राडा हेमनाथ पौडेललगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि खनालले अधिकारीका कविताले वर्तमान समयको प्रतिबिम्ब जस्ताको त्यस्तै उतारेको तथा परिवर्तन र समाजवाद स्थापनामा महत्वपूर्ण योगदान पु¥याउन सक्ने सन्देश बोकेको प्रतिक्रिया दिए । अर्का अतिथि प्राडा पौडेलले प्रकाशित कृतिको समीक्षा गर्दै यसमा वर्तमान समाजको गतिशील यथार्थ समेटिएको बताए । ‘समाज विकृत छ, समाजमा धेरै नराम्रा पक्षहरु छन्, ती नराम्रा पक्षहरुलाई कविले तीखो गरी प्रहार गर्नुभएको छ र समाजमा नयाँ चेतना ल्याउने प्रयत्न यसमा गरिएको छ,’ उनले भने ।

कृतिकार पाँचथरेले आफ्नो कृतिबारे संक्षिप्त प्रकाश पार्दै पहिलो कविता ‘इमान’ पढेर सुनाएका थिए । साहित्यकारहरू सोइना दाहाल, प्रेम राई परीक्षित र घनबहादुर थापाले पनि लोकार्पित कृतिबाट १÷१ वटा कविता वाचन गरेका थिए । कार्यक्रममा कवि वेदनिधि निरालाले आफ्नै कविता वाचन गरेका थिए ।

कल्पलता साहित्य परिवारका अध्यक्ष बिसीले कवि पाँचथरे र उनका कृतिले टोखा साहित्यमा प्रतिनिधिमूलक योगदान पु¥याउन सक्ने अपेक्षा राखेको बताए । पाँचथरे प्रगतिवादी कवि हुन् । उनले कृतिमा संग्रहित कवितामार्फत समाजका विकृतिप्रति निर्मम प्रहार गर्दै समाजलाई असल बनाउने प्रयत्न गरेका छन् ।

संग्रहमा समेटिएका धेरै कविता अविधात्मक भए पनि केहीमा बिम्ब, प्रतीकको यथेष्ट प्रयोग भएको छ । यसअघि ‘खबरदार’ र ‘आँसुको भेल’ कविता संग्रह प्रकाशित गरिसकेका पाँचथरेको यो तेस्रो कविता कृति हो ।
०००