काठमाडौं – लक्ष्मीपूजाको दिन अर्थात् कात्तिक १० गते बिहान २ बजेको समयमा प्रहरीले बाँसबारीको एउटा घरबाट २५ जुवाडेलाई पक्राउ गर्‍यो ।


ADVERTISEMENT


रातिको समयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ लगायत २५ जनालाई २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


लक्ष्मी पूजाको दिन प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई २ लाख ३७ हजार ५ सय रुपैयाँसहित पक्राउ गर्‍यो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका ३८ वर्षीय तीर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजुसहित ६ जनालाई ६३ हजार ३ सय ४२ रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका–७ गलामका लिलसिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङ्गा नगरपालिका–१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई २ लाख ८२ हजार ४ सय २२ रुपैयाँसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तिहारमा जुवातासको बिगबिगी हुने भएकाले प्रहरीले देशैभर सक्रियता बढाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए । ‘हामीले तिहारको समयमा देशभर हुने जुवातासमाथि निगरानी गर्न सक्रियता बढाएका थियौं,’ पोखरेलले भने ।

कात्तिक ३ गतेदेखि तिहारको अघिल्लो दिन अर्थात् ११ गतेसम्म ९ दिनको अवधिमा ३ महिलासहित ३२९ जना पक्राउ र ३ करोड ५ लाख रुपैयाँ बरामद गरिएको  प्रहरीले जनाएको छ ।

कहाँ जान्छ बरामद रकम ?

कात्तिक १० गते बाँसवारीको जुवाखालबाट झण्डै ३ करोड रुपैयाँ बरामद भएसँगै बरामद भएको पैसा कहाँ जान्छ भन्ने धेरैको चासो देखिएको छ । मुलुकी अपराध (संहिता) २०७५ दफा १२५ को उपदफा ३ मा लेखिएको छ, ‘जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुनेछ ।’

जफत भएको रकम जिल्ला प्रशासन कार्यालयमार्फत राज्यको राजस्वको कोषमा जम्मा हुने व्यवस्था रहेको सरकारी वकिलको कार्यालय ललितपुरकी प्रमुख न्यायाधीवक्ता मोना सिंहले बताइन् ।

कानूनमा जुवाडेलाई के छ सजाय ?

मुलुकी अपराध संहिताले जुवा खेल्ने, खेलाउने वा सट्टाबाजी गर्नेलाई ३ महिना कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा २ (क) मा ‘पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना’ हुने व्यवस्था गरिएको छ ।

उपदफा २ (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने, खेलाउनेलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।