काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारका लागि आवश्यक कागजात र मापदण्ड स्पष्ट गरेको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दिन चाहनेले सम्बन्धित पदको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। फारममा सोही पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्नेछ। उम्मेदवार स्वयं भने आफू उठेको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन्।
उम्मेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिद पनि अनिवार्य गरिएको छ। उक्त भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ।
त्यसैगरी उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। समावेशी समूहअन्तर्गत उम्मेदवारी दिनेले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने कागजातसमेत बुझाउनुपर्ने व्यवस्था छ।
निर्वाचन समितिले उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरता समेत रुजु गर्ने भएको छ। त्यसका लागि सम्बन्धित निकायबाट प्राप्त सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्नेछ।
समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र, समावेशी क्लस्टरसम्बन्धी प्रमाणपत्र तथा क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत कागजात जाँच गर्नेछ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिन इच्छुक नेताहरूले इच्छा मात्रै व्यक्त गरेर नपुग्ने, निर्वाचन समितिले तोकेको सम्पूर्ण प्रक्रिया र कागजात पूरा गर्नुपर्ने भएको छ।
















