• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




हजार वर्ष पुरानो गाउँमा सय वर्ष पुरानो मेला

Jan 12, 2020 |

हजार वर्ष पुरानो गाउँमा सय वर्ष पुरानो मेला

774
SHARES
ShareTweet
नेपालमा मेला महोत्सवको रौनक तातिएको धेरै वर्ष भएको छैन । पछिल्ला वर्ष ठाउँठाउँको प्रवद्र्धन र विकासका लागि मेला महोत्सव लगाउने क्रम बढ्दै गएको छ । झट्ट सुन्दा अचम्म लाग्छ, झण्डै एक हजार वर्ष पुरानो कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सय वर्ष पुरानो माघे सङ्क्रान्ति मेलालाई स्थानीय युवाको सक्रियतामा जीवन्त बनाइएको छ । प्रचलित संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गराउँदै यसका मौलिकता जोगाउने उद्देश्यले सय वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेको माघे सङ्क्रान्ति मेलालाई स्थानीय सिक्लेस युवा क्लबले निरन्तरता दिँदै आएको क्लबका सल्लाहकार देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । “सय वर्षयता स्थानीयवासीले केही न केही रूपमा मेलालाई निरन्तरता दिँदै आएका थिए,” उहाँले भन्नुभयो, “पछिल्ला २५ वर्षयता स्थानीय सिक्लेस युवा क्लबको सक्रियतामा मेलालाई अघि बढाइएको छ ।” मेलाका सम्बन्धमा छुट्टै मौलिक कहानी एवं प्रचलन छ । यहाँका दुई महत्वपूर्ण धार्मिक तीर्थस्थल म्हउदु र फैमक्युमा प्रत्येक वर्ष पुसको अन्तिम दिन स्थानीयवासी जुटेर सरसफाइ गर्दछन् । सरसफाइ गरेपछि म्हउदुमा उन नकाटेको भेडाको बलि दिइन्छ । बलि दिएपछि यहाँ मूल फुट्ने जनविश्वास छ । प्रचलनअनुसार मूल फुटेका तीर्थस्थलमा पुसको अन्तिम दिन रातको १२ बजेदेखि यहाँ स्नान गर्नेको भीड लाग्दछ ।
रातमा स्नान गरेका तीर्थालुले माघको १ गते सङ्क्रान्तिका दिन एक सयजना मानिसलाई हेरेमा मनले चिताएको पुग्ने जनविश्वासकै आधारमा एक सय वर्षपहिलादेखि सिक्लेसमा माघे सङ्क्रान्ति मेला लाग्ने गरेको स्थानीय बूढापाकाको तर्क छ । सिक्लेसमा लाग्ने माघे सङ्क्रान्ति मेलाको आफ्नै महत्व रहेको सिक्लेस पार्चे तमु समाज पोखराका अध्यक्ष सुवेदार रनबहादुर गुरुङले बताउनुभयो । प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँ सिक्लेसको प्रवद्र्धनका लागि पछिल्लो समयमा मेला बहुउपयोगी बन्दै गएको उहाँले बताउनुभयो । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने ४५० घरधुरी रहेको यो गाउँ समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ । लमजुङ हिमालको काखमा लुट्पुटिएको यो गाउँ वरिपरिको हरियो वनजङ्गलका कारण पाइने चराचुरुङ्गी र वन्यजन्तुका कारण पर्यापर्यटनमा पनि उत्तिकै आकर्षक छ । यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यहाँ पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजमुज्ज तर अत्यन्त सफा र सुन्दर नमूना बस्तीले पर्यटकलाई यात्राको थकाइ बिर्साउने गरेको छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा चासो दिइएका कारण बाटाघाटा, घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको अर्को विशेषता हो । गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि सिक्लेस पुग्ने गरेका छन् ।
गुरुङ संस्कृतिको अध्ययन, अवलोकन एवं अनुसन्धानका लागि यहाँस्थित सिक्लेस इको म्युजियम पनि उपयोगी बनेको छ । गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्री देख्न पाइने सङ्ग्रहालयमा गाउँ आसपासमा पाइने कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टिमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा पर्यटकले हेर्न तथा जानकारी लिन पाउँछन् । मौलिकतायुक्त यहाँका प्रकृति र संस्कृतिका साथै युगौँदेखि चल्दै आएको मेलालाई पछिल्ला पुस्तासम्म हस्तान्तरण गर्ने सोचका साथ क्लबले यस वर्ष पनि माघ १ देखि ४ गतेसम्म मेला गर्ने भएको मेला संयोजक एवं क्लबका सचिव बेलप्रसाद गुरुङले जानकारी दिनुभयो । मेलाका अवसरमा सिक्लेसका प्रकृति, संस्कृतिका साथै यहाँबाट नजीकै रहेको नेपालकै कम उचाइमा रहेको क्हफुचे हिमतालको समेत प्रचारप्रसार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । मेलाका अवसरमा लोपोन्मुख खेलहरू ह्याकुचे, छेलो हान्ने, घुर्रा घुमाइका साथै भलिबल, बास्केटबल, नृत्यलगायत विविध प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको छ । नेपाल सरकारद्वारा घोषित भ्रमण वर्ष २०२० का अवसरमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएका अवस्थामा सय वर्ष पुरानो मेलाले विशेष महत्व राख्ने विश्वास लिइएको छ ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousस्वास्थ्य बीमा गरेका आधाले गरेनन् नवीकरण
Nextमाघीको तयारीमा जुटे थारू घरबास गाउँ भादाका बासिन्दा

ताजा खबर

  • विश्वप्रकाशको ‘ऐना’ आजदेखि हेर्न पाइने
  • आँप बिक्रीबाट वार्षिक आठ लाख बचत
  • हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
  • अब सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
  • भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार छु : माधव नेपाल

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved