न्युयोर्क — टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए ।
सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ। ‘डाक्टर गूडरिच हाम्रो अस्पतालका नक्षत्र थिए, हामी उनलाई कहिल्यै बिर्सन सक्दैनौँ,’ मोन्टेफियोरे मेडिसिनका सीईओ डाक्टर फिलिप ओ ओजुआले भने।
सन् २०१६ को अक्टोबर १४ मा डाक्टर गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसनपनि जेडन र एनियसलाई अलग गरेका थिए। मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए। जेडन र एनियस को शारीरिक विकास एउटै क्रममा भइरहेको बताइन्छ।
अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डाक्टर गूडरिचले ब्रोंक्स अस्पतालमा पेडियाट्रिक न्यूरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताए। त्यस्तै अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा पनि उनले लामो समय न्यूरोलोजिकल सर्जरी, पेडियाट्रिक्स तथा प्लास्टिक सर्जरीका विषयमा प्राध्यापन गरेका थिए।
अस्पतालका अनुसार उनी ओरेगनका स्थायी बासिन्दा थिए। साथै भियतनाम युद्धका बेला उनी अमेरिकी जलसेनामा पनि आबद्ध भएको अस्पतालले जनाएको छ। उनको श्रीमती र ३ छोरी रहेका छन्।