काठमाडौँ — विभिन्न देशका लागि अवैतनिक दूतका हैसियतमा प्राप्त सेवा सुविधाको दुरुपयोग भएको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर सबै अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गरिएको सुविधा फिर्ता लिने निर्णय भएको जनाएको छ।
मन्त्रालयले अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिने निर्णय तत्काल लागू हुने र अर्को सूचना जारी नभएसम्म कार्यान्वयन हुने जनाएको छ।
किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा संलग्न भएको अवस्थामा पक्राउ परेसँगै सरकारले सबै महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा खोस्ने निर्णय गरेको हो। पक्राउ परेका अग्रवालको जिम्मेवारी खोसिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार ७ दिनका लागि हिरासतमा पठाएको छ।