काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि लोकप्रिय गायक प्रकाश कट्टुवाल ले उम्मेदवारी दर्ता गराएका छन्। उनले पेशागत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
सांगीतिक क्षेत्रमा स्थापित र चर्चित गायकका रुपमा चिनिएका कट्टुवाल पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय छन्। गायनसँगै उनले पेशाकर्मी र कलाकर्मीको हकहितका लागि लामो समयदेखि आवाज उठाउँदै आएका छन्। कलाक्षेत्रमा लोकप्रिय भएका कारण पार्टीभित्र र बाहिर उनको राम्रो पकड रहेको छ।
कांग्रेसको १५औं महाधिवेशनलाई रुपान्तरणको महाधिवेशनका रुपमा हेरिएको बेला पेशागत क्षेत्रबाट अनुभवी र लोकप्रिय अनुहारको रुपमा कट्टुवालको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पेशागत प्रतिनिधित्वलाई केन्द्रमा बलियो बनाउने एजेन्डासहित उनी चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
उम्मेदवारी दर्तासँगै उनलाई शुभकामना दिने र समर्थन जनाउनेहरुको घुइँचो लागेको छ। पेशाकर्मी, कलाकर्मी र पार्टी कार्यकर्ताले उनको उम्मेदवारीप्रति उत्साह व्यक्त गरेका छन्।


















