काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भनिएको आर्थिक अनियमितता तथा खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुंग्याउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
सीआईबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो।
सीआईबीका अनुसार अनुसन्धानका क्रममा एन्फाभित्र ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालिएको छ। उनीहरूमाथि खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो। यसअघि असोज २ गते सीआईबीको टोलीले एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। अध्यक्ष नेम्वाङ र महासचिव राई भने उनीहरू पक्राउ परेपछि सम्पर्कमा नरहेको सीआईबीले जनाएको छ।
एन्फामा आर्थिक अनियमितता, अधिकारको दुरुपयोग तथा विभिन्न प्रतियोगितासँग सम्बन्धित कारोबारमा अनियमितता भएको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। उजुरीमा राष्ट्रिय हित र प्रतिष्ठाविपरीत हुने गरी होम गेम बिक्री गरेको, राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अवज्ञा गरेको, अवैध रूपमा भत्ता वितरण गरेको तथा महिला साफ च्याम्पियनसिपसँग सम्बन्धित होटल दररेटमा कमिसन लिएको आरोपलगायतका विषय समेटिएका थिए।
त्यस्तै, स्वीकृतिबिना वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग, अनावश्यक नियुक्ति तथा विभिन्न टेन्डर प्रक्रियामा प्रचलित कानून पालना नगरेको आरोपसमेत अनुसन्धानको दायरामा परेको थियो। विभिन्न प्रतियोगिताका मार्केटिङ, डिजिटल, बोर्डकास्टिङ तथा टिकटिङ अधिकार प्रदान गर्दा अनियमितता भएको आरोपमा समेत छानबिन गरिएको सीआईबीले जनाएको छ।
यसैबीच, एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ।
















