काठमाडौं – सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा भएको खानतलासी तथा सम्पत्ति छानबिनलाई राज्यका निकायको नियमित प्रक्रियाका रूपमा लिएको जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले जबराको निवासमा भएको खानतलासी र सम्पत्ति छानबिनबारे सरकारसँग प्रश्न गरेका थिए ।

केही दिनअघि सुरक्षाको विषय उठेपछि थप सुरक्षा व्यवस्था गरिएको जबराको निवासमै खानतलासी गरिनुको कारणबारे प्रश्न उठेपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारी निकायले आफ्नो नियमित काम गरिरहेको बताए । उनले भने, ‘सरकारी निकायले आफ्ना नियमित कामहरू गरिरहेका छन् । त्यसलाई नियमित कामकै रूपमा हेर्नुपर्छ।’

प्रवक्ता पोखरेलले खानतलासी तथा सम्पत्ति छानबिनसम्बन्धी थप विवरण आवश्यक परे सम्बन्धित निकायबाटै जानकारी आउने बताए । सम्पत्ति शुद्धीकरण विभाग वा सम्बन्धित मन्त्रालयबाट यसबारे थप जानकारी लिन सकिने उल्लेख गर्दै उनले अहिलेका लागि घटनालाई सरकारी निकायको नियमित कामका रूपमा बुझ्न आग्रह गरे ।