काठमाडौं – भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले दलेलाको नाम एग्रिमोका लागि नेपाल पठाएको हो । यसअघि नेपालमा राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूत बनाएर पठाउने चर्चा भइरहेका बेला भारतले भने लामो कूटनीतिक अनुभव भएका कर्मचारीलाई प्रस्ताव गरेको छ ।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले नेपालसहित दक्षिण एसियाली मामिलामा लामो समय काम गरेका छन् । सन् २०१६ देखि २०१९ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनको सहसचिव रहँदा उनले नेपाल र भुटानसँगको सम्बन्धसम्बन्धी विषय हेरेका थिए ।

दलेला सन् २०२२ देखि भुटानका लागि भारतीय राजदूतसमेत रहिसकेका छन् भने हाल भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत छन् । व्यापार, आर्थिक कूटनीति तथा बहुपक्षीय सम्बन्धमा समेत उनको अनुभव छ ।

उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्डलगायत विभिन्न मुलुकस्थित भारतीय कूटनीतिक नियोगमा जिम्मेवारी सम्हालिसकेका छन् ।