पोखरा – विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पूँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले असोज २३ गते शुक्रबार पोखरा महानगरपालिका–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा १०० जनाभन्दा बढी विद्यार्थी, प्राध्यापक तथा कलेजका कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले विद्यार्थीहरूलाई बचत र लगानीको महत्त्वबारे जानकारी गराएका थिए। उनले विद्यार्थी जीवनदेखि नै सानो रकम बचत गर्ने बानी विकास गर्नुपर्ने र बचत भएको रकमलाई उपयुक्त माध्यमबाट लगानी गर्न सकिने विषयमा प्रकाश पारेका थिए।
उनले धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) तथा आईपीओमा लगानी गर्ने प्रक्रियाबारे जानकारी दिएका थिए। साथै, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको सेयरमा लगानी गर्दा कम्पनीको अवस्था, जोखिम तथा अन्य महत्त्वपूर्ण पक्षहरूको अध्ययन गरेर निर्णय लिनुपर्ने विषयमा समेत सहभागीलाई सचेत गराएका थिए।
कार्यक्रममा पूँजी बजारको पछिल्लो अवस्था, लगानीका अवसर तथा लगानी गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थी र प्राध्यापकहरूसँग अन्तरक्रिया गरिएको थियो।
एनआईसी एशिया क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले युवा पुस्तामा बचत, लगानी र पूँजी बजारसम्बन्धी ज्ञान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















