काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा करोडौँ रुपैयाँको आर्थिक चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोपसहित छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो।

सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा सांसद सुनारमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ। यद्यपि, उजुरीमा उल्लेखित आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। यसैबीच, रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले पनि सांसद सुनारमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा पार्टी संसदीय दलका नेता बालेन साहलाई पत्र पठाएका छन्।


ADVERTISEMENT

#
#


बाँके निर्वाचन क्षेत्र नम्बर ३ का स्थानीयसमेत रहेका ओलीले ‘राइट टु रिकल’ प्रयोग गर्दै सुनारलाई तत्काल निलम्बन गर्न, निष्पक्ष छानबिन अघि बढाउन र दोषी पाइए आवश्यक कारबाही गर्न माग गरेका हुन्।

ओलीले पठाएको पत्रमा निर्वाचन जितेपछि सांसद सुनार आफ्नो निर्वाचन क्षेत्रमा नफर्किएको दाबी गर्दै स्थानीय मतदातामा असन्तुष्टि बढ्दै गएको उल्लेख गरिएको छ। निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक पहल नगरेको आरोपसमेत पत्रमा लगाइएको छ।

पत्रमा सुनारको निर्वाचनअघिको र अहिलेको जीवनशैलीबीच ठूलो अन्तर देखिएको भन्दै त्यसको स्रोतबारे सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने माग गरिएको छ।

‘निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पहल नगरेको, निर्वाचनअघिको उहाँको जीवनशैली, लवाइखवाइ र अहिलेको जीवनशैलीमा आकाश–पातालको फरक देखिन्छ,’ पत्रमा भनिएको छ, ‘यसमा परिवर्तन आउनुको स्रोत के हो ? यसको स्पष्ट जवाफ जनताले पाउनुपर्छ।’

सांसद सुनारविरुद्ध अख्तियारमा परेको उजुरी र पार्टीभित्रैबाट उठेको कारबाहीको मागले उनीमाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन तथा सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने विषयलाई थप चर्चामा ल्याएको छ।