काठमाडौँ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू अस्पताल लैजानेक्रममा नै बेहोस् भएको बताएका छन् । बिहीबार अस्पतालबाटै एक स्पष्टीकरण पत्र जारी गर्दै सांसद शाहीले आफू पार्टीको पनिर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
उनले आफू सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भएको उल्लेख गरेका छन् । बिरामी भएपछि आफ्नै भाईलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल जाने क्रममा आफू बेहोस भएको उनले स्पष्टीकरणमा भनेका छन् ।
उनले आफू अहिले पनि उपचाररत रहेको र स्वास्थ्य अवस्था सुधारन्मुख रहेको बताएउँदै उनले भनेका छन्, ‘म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’
समाचार र सामाजिक सञ्जालमा आएका खबरबाट आफ्नो धारण नबनाउन आग्रह गर्दै उनले अघि भनेका छन्, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णय प्रति प्रतिबद्धता कायमै छ ।’
बुधबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । जसका कारण प्रदेशसभाको बैठक नै स्थगित भएको थियो ।
तर, उनी पोखराको चरक अस्पतालको आइसीयूमा भर्ना भएको अवस्थामा भेटिएका थिए भने उनको कोरोना पोजेटिभ भएको रिपोर्ट सार्वजनिक भएको थियो ।