काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित डिला संग्रौला पन्तले पार्टीलाई नयाँ सोच, ऊर्जा र कार्यशैलीसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले कांग्रेसलाई युवा पुस्ताको चाहनाअनुसार रूपान्तरण गर्दै नयाँ उचाइमा पुर्‍याउन आफू सक्रिय भएर लाग्ने बताएकी हुन्। महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै संग्रौलाले प्राप्त सफलताले खुसीसँगै थप जिम्मेवारीको बोध गराएको बताइन्। पार्टीभित्र नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्नु र कांग्रेसलाई नयाँ बाटोमा अघि बढाउनु आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।


ADVERTISEMENT

# #


कांग्रेसको महामन्त्री बन्न सफल भएको विषयलाई उनले व्यक्तिगत उपलब्धिमा मात्रै सीमित नराखी समग्र महिलाको गौरवका रूपमा व्याख्या गरेकी छन्। महिला संघमा आबद्ध दिदीबहिनीहरूको समर्थन र विश्वासले आफूलाई यो जिम्मेवारीसम्म पुर्‍याएको उल्लेख गर्दै उनले यसलाई महिलाहरूको साझा उपलब्धि भएको बताइन्।

संगठन निर्माण र पार्टी सञ्चालनको अनुभवलाई उपयोग गर्दै महामन्त्रीका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ। महिला संघको अध्यक्ष, पार्टीका विभिन्न संगठनात्मक जिम्मेवारी तथा सहमहामन्त्रीका रूपमा काम गरेको अनुभवले नयाँ जिम्मेवारी पूरा गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन्।


ADVERTISEMENT

#
#


पार्टीको नीति, योजना र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कांग्रेसलाई थप सशक्त बनाउने दिशामा आफू समर्पित रहने संग्रौलाले बताएकी छन्। युवा पुस्ताको अपेक्षा, महिलाको सहभागिता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ।