काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फको महामन्त्री पदमा उदयशमशेर राणा निर्वाचित भएका छन्। उनले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्रीको जिम्मेवारी हासिल गरेका हुन्।

महामन्त्री पदको प्रतिस्पर्धामा राणाले नैनसिंह महर, डा. सुनिल शर्मा, शंकर तिवारी, गुरुराज घिमिरे, अमरसिंह पुन र डा. सन्तोष उपाध्यायलाई पछि पारेका हुन्।


ADVERTISEMENT

# #


गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका राणा यसपटक महामन्त्री पदमा प्रतिस्पर्धा गर्दै एक तह माथि उक्लिएका छन्। उनी २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

राजनीतिसँगै संसदीय अनुभवसमेत हासिल गरेका राणा ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०७० र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएपछि उनले अर्थ राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।


ADVERTISEMENT

#
#


कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षसमेत भइसकेका राणालाई पार्टी संगठन र संसदीय राजनीतिमा अनुभव भएको नेताका रूपमा चिनिन्छ।

सन् १९७० फेब्रुअरी २७ मा ललितपुरमा जन्मिएका राणाले सेन्ट जेभियर्स स्कुल, जावलाखेलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। उनले भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुल र लरेन्स स्कुल, सनावरमा अध्ययन गरेका थिए। दिल्ली विश्वविद्यालयअन्तर्गत सेन्ट स्टिफन्स कलेजबाट स्नातक गरेका उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

महामन्त्रीमा निर्वाचित भएसँगै राणाको काँधमा पार्टीको संगठनात्मक व्यवस्थापन, नीतिगत कार्यान्वयन र आगामी राजनीतिक कार्यदिशामा नेतृत्वलाई सहयोग गर्ने महत्त्वपूर्ण जिम्मेवारी आएको छ।