काठमाडौं – दशैं, तिहार र छठलगायत चाडपर्वलाई सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गर्ने भएको छ ।

चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, अनलाइन अपराध तथा सडक दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।


ADVERTISEMENT

# #


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार नागरिकको जनधनको सुरक्षा, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन र शान्तिसुरक्षा कायम गर्न योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिनेछ ।

सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा ७ हजार ६६८ र कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन हुनेछन् । यस्तै, मधेश प्रदेशमा ७ हजार २३०, बागमती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ जना प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

#
#


चाडपर्वको समयमा ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, बेटिङ, नक्कली नोटको कारोबार र अवैध हुण्डी कारोबारजस्ता गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष निगरानी गरिनेछ । खुला सीमाबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी नियन्त्रणमा पनि प्रहरीले विशेष ध्यान दिने भएको छ ।

लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । ती कक्षमा १ हजार १६५ जना प्रहरी परिचालन गरिनेछ । यस्तै, अन्तर्राष्ट्रिय सीमाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ जना प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।

यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने, हराएका वा भेटिएका व्यक्ति तथा सामानको खोजीमा समन्वय गर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता प्रदान गरिनेछ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनका चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवन, सवारीको सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र लामो दूरीका सवारीमा दुई चालक भए–नभएको जाँच गरिनेछ ।

सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा प्रहरी सञ्चार प्रणालीको प्रयोगमार्फत सुरक्षा निगरानी र सूचना आदानप्रदानलाई प्रभावकारी बनाइनेछ । सामाजिक सञ्जालमा फैलिने सूचनाको विश्लेषण गरी सम्भावित सुरक्षा चुनौती पहिचान गर्ने योजना पनि प्रहरीले अघि सारेको छ ।

त्यसैगरी, नक्कली अनलाइन सपिङ, बैंकिङ ठगी तथा ओटीपी, पिन र पासवर्ड मागेर गरिने फिसिङजस्ता डिजिटल अपराधबाट जोगिन प्रहरीले नागरिकलाई आग्रह गरेको छ । अपरिचित व्यक्तिले माग्दैमा आफ्नो गोप्य बैंकिङ विवरण उपलब्ध नगराउन पनि प्रहरीले सचेत गराएको छ ।

बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक, चोक र सहरका प्रवेश तथा निकास नाकामा विशेष सुरक्षा व्यवस्था मिलाइने प्रहरीले जनाएको छ ।