काठमाडौँ– भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली आजबाट सुरु भएको छ ।
बिहिवार पशुपतिनाथ मन्दिरमा मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा पशुपतिनाथ मन्दिरबाट सो र्यालीको शुभारम्भ गरेका हुन् ।
सो शुभारम्भ कार्यक्रममा बौल्दै मन्त्री आलेले भारत र नेपालबीचको शदियौँ पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउँदै मोटरसाइकल र्यालीका सहभागीहरुलाई यात्राको सफलताको शुभकामना व्यक्त गरेका छन् । यस्तै भारतका तर्फबाट बोल्दै भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताए ।
दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य समेत बोकेको र्यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकल प्रेमीहरुको सहभागीता रहेको थियो । र्यालीमा सहभागीहरुले कार्तिक २७ गते बनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, यात्राका क्रममा र्याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ । यात्राका झलकहरु दूतावासको सामाजिक सञ्जालमा हेर्न सकिनेछ ।
स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्यालीको आयोजना गरेको हो ।