एजेन्सी – इक्वेडरको जेलमा कैदीबन्दीबीच भएको भिडन्तमा कम्तीमा ६८ जनाको ज्यान गएको छ। गुयाक्विल सहरमा रहेको जेलमा शुक्रबार बेलुकादेखि भिडन्तमा ६८ जनाको ज्यान गएको हो । भिडन्त भएको युनिटमा प्रवेश गरेको प्रहरीको रणनीतिक टोलीले बन्दुक तथा बिस्फोटक पदार्थ फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT


इक्वेडरमा यो वर्ष जेलमा भएका भिडन्तमा झण्डै ३०० जनाको ज्यान गएको छ । यसअघि गएको सेप्टेम्बरमा जेलमा रहेका कैदीबन्दीका दुई समूहबीच भिडन्त हुँदा एक सयभन्दा धेरैको ज्यान गएको थियो । पछिल्लोपटक भएको भिडन्तमा २५ जना घाइते भएका छन् । राष्ट्रपति गुइलेर्मो लासोले ट्वीटरमा वक्तव्य पोस्ट गरी ज्यान गुमाएकाका आफन्तप्रति समवेदना प्रकट गरेका छन्। यस्तै उनले माफियाहरुबाट जोगिनका लागि नयाँ नियम लागू गर्ने पनि उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


इक्वेडरमा लागुऔषध तस्करी गर्ने समूहको सक्रियता उच्च छ। उनीहरुको सम्बन्ध मेक्सिकोमा रहेका लागुऔषध तस्करी समूहसँग हुने र उनीहरुकै सहयोगमा जेल तोड्ने तथा भिडन्तसहितका घटना हुने गरेका छन् ।

इक्वेडरका जेलमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु र रिसइबी भएका समूहलाई एउटै जेलमा राखिनु पनि भिडन्तको कारक रहेका छन् । पछिल्लोपटक भिडन्त भएको लितोराल जेलको क्षमता पाँच हजार तीन सयजनाको भए पनि ८ हजार पाँच सयजना राखिएको थियो ।