काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहीबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ।


ADVERTISEMENT

# #


त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि एनबीएसएम एन्ड एसोसिएट्सलाई नै लेखापरीक्षकका रूपमा निरन्तरता दिने निर्णय गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा रहेको छ। कम्पनीले वितरणयोग्य आम्दानीबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

#
#


नेपालको पुँजी बजारमा तीन दशकभन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको लक्ष्मी सनराइज क्यापिटलले मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोष सञ्चालनमार्फत धितोपत्र बजारको विकास र विस्तारमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका छवटा बन्दमुखी र एउटा खुलामुखी गरी सातवटा म्युचुअल फन्ड सञ्चालन गरिरहेको छ। त्यस्तै, एक अर्ब रुपैयाँ पुँजीको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी गर्दै आएको छ।

कम्पनीले इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था भएको पनि जनाएको छ। यसले सामाजिक तथा वातावरणीय प्रभावलाई ध्यानमा राख्दै दिगो र जिम्मेवार लगानी प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।