काठमाडौँ – नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नेपाली काँग्रेसलाई सही बाटोमा अग्रसर बनाउनका लागि काम गर्ने बताएका छन् ।
बिहीबार महामन्त्रीमा सर्वाधिक मतसहित विजयी भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्दै काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन सक्रिय रहने बताएका हुन् ।
‘नेपाली काँग्रेस कुनै पनि अलमलमा नरहिकन यसको राजनीतिक बाटो, राजनीतिक लाइन दिने काम महामन्त्रीको हो । त्यसका लागि मैँले एउटा लिखित प्रस्ताव ल्याएर आएको छु । त्यसकै आधारमा म पार्टीलाई अगाडि बढाउने कोसिस गर्छु ।’
महामन्त्री थापाले पार्टी सभापतिलाई सही मागैमा डोर्याउन पार्टीका अन्य पदाधिकारीसँग मिलेर काम गर्ने धारणा राखे । उनले भने, ‘मसँग भर्खर महामन्त्रीमा निर्वाचित हुनु भएको साथी विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ लगायतका जो पदाधिकारी साथीहरु छौँ, हामीले मिलेर सभापतिजीलाई बल पनि पुर्याउने हो, ताकत पनि पुर्याउने हो र घच्घचाउने पनि हो र सही ठाउँमा उभ्याउने पनि हो ।’
स्थानीय निर्वाचनको नजिक पनि पुगिसकेकाले पार्टीलाई व्यवस्थित पनि गर्ने र अधिवेशनपछि उत्साह भए पनि वडादेखि निर्वाचन भएकाले कतिपय ठाउँमा उत्पन्न मनमटावलाई पनि कम गर्दै नेताकार्यकर्ताबीचको दूरी कम गर्ने बताए ।
उनले भने, ‘मलाई एक दिन पनि चुक्ने सुविधा मसँग छैन, एक दिन पनि थाक्ने, बिग्रिने सुविधा मसँग छैन । मत र विश्वास धेरै पाउनु भनेको र जिम्मेवारी वहन गर्न तयार हुनु पनि हो । त्यसका लागि म काम गर्छु ।’
पार्टी सभापतिले अभिभाकत्व ग्रहण गरेर युवा नेताहरुले ल्याएका एजेण्डा र विचारहरुमा साथ दिने बताउँदै गगनले पार्टीलाई विधान, विधिसम्मत ढंगले चलाउन नेतृत्वलाई घच्घच्याउने बताए । उनले भने, ‘नेपाली काँग्रेसलाई हामी जति छौँ, त्यतिमै सीमित राख्नु हुँदैन । यो पार्टीलाई देखिने, सुनिने र सबैभन्दा ठूलो कुरा भरोसा गर्न योग्य बनाउनु पर्छ ।’