काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले सभापोखरी हाइड्रोपावर लिमिटेडको १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रत्याभूति गर्ने भएको छ ।

दुवै कम्पनीबीच असोज २८ गते आईपीओ प्रत्याभूति सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ ।


ADVERTISEMENT

# #


गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सभापोखरी हाइड्रोपावरले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–३ मा पाँच मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।


ADVERTISEMENT

#
#


गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, प्रत्याभूति, लगानी व्यवस्थापन, डिम्याट तथा मेरोसेयर सेवा, म्युचुअल फन्ड व्यवस्थापन र संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

आईपीओ प्रत्याभूति सम्झौतासँगै सभापोखरी हाइड्रोपावरको सर्वसाधारण सेयर निष्कासन प्रक्रियामा थप कदम अघि बढेको छ ।