काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी म्युचुअल फन्ड योजना ‘शुभ लक्ष्मी कोष’ को आकार बढाएर तीन अर्ब रुपैयाँ पुर्‍याउन नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

साथै, कोषले आफ्ना इकाइधनीका लागि व्यवस्थित रूपमा रकम झिक्न सकिने सिस्टेमेटिक विथड्रअल प्लान (एसडब्ल्यूपी) सुविधा पनि सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार कोषको अधिकृत आकार एक अर्ब रुपैयाँबाट बढाएर तीन अर्ब रुपैयाँ कायम गर्न असोज १९ गते धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको हो ।


ADVERTISEMENT

# #


यसअघि २०८२ कात्तिक २५ गते कोषको आकार ५० करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर एक अर्ब रुपैयाँ पुर्‍याइएको थियो । एक वर्षको अवधिमा थपिएको कोषको आकारअनुसारको रकम करिब पूर्ण रूपमा इकाइधनीबाट सङ्कलन गरी इकाइ बाँडफाँट गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कोषको आकार तीन अर्ब रुपैयाँ पुगेपछि थप लगानीकर्तालाई योजनामा सहभागी गराउन सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।


ADVERTISEMENT

#
#


यसैगरी, शुभ लक्ष्मी कोषले इकाइधनीका लागि एसडब्ल्यूपी सुविधा पनि सुरु गरेको छ । यस सुविधामार्फत इकाइधनीले आफ्नो लगानीबाट निश्चित समय अन्तरालमा आवश्यक रकम योजनाबद्ध र नियमित रूपमा झिक्न सक्नेछन् ।

विशेषगरी, लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीको भनाइ छ ।

नियमित रूपमा लगानी गर्न सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) र आवश्यकताअनुसार लगानीबाट रकम प्राप्त गर्न एसडब्ल्यूपी सुविधा उपलब्ध भएपछि शुभ लक्ष्मी कोष लगानीकर्ताका लागि थप आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड शुभ लक्ष्मी कोषको योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा रहेको छ ।