काठमाडौं – काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा नौ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टरनजिकै बस दुर्घटनामा परेको हो । बाप्र ०३–००१ ख २७७४ नम्बरको उक्त बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउन पछाडि सार्ने क्रममा दुर्घटना भएको हो । बस ब्याक गर्ने क्रममा पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भएर सडकबाट तल खसेको उनले जानकारी दिए ।
दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयवासीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उद्धार गरिएका नौ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ ।
बसमा कुल कति यात्रु सवार थिए भन्ने यकिन विवरण खुल्न सकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



























