काठमाण्डौं-एड्सका कारण बाँकेका १ सय १३ जना एचआइभी संक्रमितको मृत्यू भएको छ । आर्थिक वर्ष २०७३/०७४ असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


ADVERTISEMENT


बाँकेमा तेस्रो लिङ्गीमा समेत एचआइभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी-एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआइभी संक्रमण भएको छ । उनले बाँकेमा २६ जना बालबालिकामा समेत एचआइभी संक्रमण भएको जानकारी दिए । ‘असुरक्षित यौन सम्पर्क र सूई, सिरिन्जबाट लागू औषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन्,’ चन्दले भने, ‘कामका लागि विदेश गएकाबाट पनि एचआइभी सरेको पाइएको छ ।’


ADVERTISEMENT

# # #


उनले ३९४ जना एचआइभी संक्रमितले मात्र एआरटी सेवा लिइरहेको बताए । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरु एआरटी सेवाबाट बन्चित भएको उनले बताए । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनु पर्ने भएकोले केही संक्रमितले सेवा लिन नमानेको चन्दको भनाई छ । ‘एक पटक सेवा लिएपछि जीवनभर लिइरहनु पर्छ, सेवा लिइरहनु पर्ने भएकोले केहीले झन्झट मान्छन्,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख बरिष्ठ जनस्वास्वास्थ्य प्रशासक खिमबहादुर खड्काले सरकारी नीति अनुसार बाँकेका प्रत्येक गर्भवतीको एचआइभी जाँच गरिदै आएको बताए । उनले गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँचसँगै एचआइभी जाँच गरिएको जानकारी दिए । उनले एचआइभी संक्रमण भएका महिलालाई पिएमटिसिटी सेवा दिएर बच्चामा एचआइभी सर्न नदिने प्रयास गरिएको बताए ।

भेरी अंचल अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.वीरेन्द्रबहादुर चन्दले भेरी अञ्चल अस्पतालले एचआइभी संक्रमितलाई निशुल्क उपचार सेवा दिएको बताए । उनले सिडिफोर काउन्ट, एआरटी, पिएमटिसिटी सेवा लगायत एचआइभी संक्रमितका लागि छुट्टै वार्डको ब्यवस्था गरिएको समेत बताए ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. संकेत रिसालले भेरी अञ्चल अस्पतालबाट ३ सय ९४ जना एचआइभी संक्रमितले एआरटी सेवा लिइरहेको बताए । उनले सेवा लिन आउने संक्रमितलाई निःशुल्क सेवा र परामर्श प्रदान गरिदै आएको पनि जानकारी दिए ।‘पिएमटिसिटी सेवा लिने गर्भवती महिलाको संख्या पनि उत्तिकै छ,’ उनले भने ।