विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
कर्तव्य निर्वाहका क्रममा उच्च जोखिम मोलेर व्यक्तिको उद्धार गर्नुका साथै अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठता प्रदर्शन गरेको मूल्याङ्कन गर्दै रिमाललाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना प्रहरीले पाएको थियो ।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । उद्धारका क्रममा रिमाल स्वयं जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कर्तव्यप्रति समर्पित रही उच्च मनोबल र व्यावसायिकताका साथ कार्यसम्पादन गरेको तथा नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले रिमालको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेको हो ।
विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको आधारमा उनलाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ छनोट गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





