काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले ब्राण्डिङ गरेको दुग्ध विकास संस्थान (डीडीसी) को सिंहदरबार बिक्री केन्द्रमै दूध, दही, मोहीलगायत दुग्धजन्य पदार्थको अभाव देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबार परिसरभित्रै सञ्चालनमा रहेको डीडीसीको सुपथ मूल्य बिक्री केन्द्रमा आवश्यक दुग्धजन्य पदार्थ नपाउँदा कर्मचारीदेखि सामान किन्न आउने सिंहदरबार भित्रका अन्य उपभोक्तासम्म रित्तै फर्किन बाध्य भएका छन् ।
सिंहदरबारभित्रका कर्मचारी तथा अन्य उपभोक्ता दूध, दही, मोहीलगायतका दैनिक उपभोग्य वस्तु किन्न बिक्री केन्द्र पुग्ने गरे पनि आवश्यक सामग्री नपाएपछि सोधखोज गर्दै फर्किनुपर्ने अवस्था रहेको छ । सरकारी कार्यालयकै परिसरमा रहेको बिक्री केन्द्रमा नियमित रूपमा उपभोग्य वस्तु उपलब्ध नहुनुले डीडीसीको आपूर्ति व्यवस्थापन र सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रधानमन्त्री कार्यालयकै आँगनमा यस्तो अवस्था !
डीडीसीको बिक्री केन्द्र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यालय रहेको सिंहदरबार परिसरभित्रै बाटाे वारीपारी छ । अर्थात्, प्रधानमन्त्री कार्यालयको आँगनमै रहेको सरकारी संस्थानको बिक्री केन्द्रमा उपभोक्ताले खोजेका दुग्धजन्य पदार्थ सहज रूपमा पाउन नसकेको अवस्था छ ।
एकातिर सरकारी संस्थानको ब्राण्डिङ र स्वदेशी उत्पादनको प्रवर्द्धनको चर्चा भइरहेको छ भने अर्कोतिर उपभोक्ताले आवश्यक वस्तु किन्न खोज्दा अभाव झेल्नुपरेको छ । यसले सरकारी संस्थानको प्रचार र वास्तविक सेवा प्रवाहबीचको अन्तरलाई उजागर गरेको छ ।
डीडीसीले उत्पादन गर्ने दूध, दही, मोहीलगायतका दुग्धजन्य पदार्थ उपभोक्ताका दैनिक आवश्यकतासँग जोडिएका वस्तु हुन् । यस्ता सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्नु बिक्री केन्द्रको आधारभूत जिम्मेवारी हो । तर सिंहदरबारभित्रै आवश्यक सामग्री नपाइने अवस्था देखिएपछि संस्थानको आपूर्ति प्रणाली र बिक्री केन्द्रको सञ्चालन व्यवस्थापनबारे प्रश्न उठ्नु स्वाभाविक हो ।
ब्राण्डिङसँगै आपूर्ति व्यवस्थापनमा पनि ध्यान दिने कि ?
प्रधानमन्त्री शाहको ब्राण्डिङसँग जोडिएको सरकारी संस्थानको बिक्री केन्द्रमै उपभोक्ताले आवश्यक सामग्री नपाउनु विडम्बनापूर्ण देखिन्छ । सरकारी संस्थानको प्रभावकारिता प्रचार र ब्राण्डिङबाट मात्रै मापन हुँदैन; उपभोक्ताले खोजेको वस्तु समयमै, सहज रूपमा र नियमित उपलब्ध गराउन सक्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
सिंहदरबारभित्रै कार्यरत कर्मचारी तथा अन्य उपभोक्ताले दूध, दही र मोहीजस्ता सामान्य दुग्धजन्य पदार्थ खोज्दै फर्किनुपर्ने अवस्था किन सिर्जना भयो ? बिक्री केन्द्रमा मागअनुसार सामग्री आपूर्ति भइरहेको छ कि छैन ? आपूर्ति व्यवस्थापनमा कमजोरी छ वा अन्य कुनै कारणले अभाव भएको हो ? यी प्रश्नको जवाफ डीडीसी व्यवस्थापनले दिनुपर्ने देखिन्छ ।
प्रधानमन्त्री कार्यालयकै परिसरमा रहेको बिक्री केन्द्रमा देखिएको यस्तो समस्याले सरकारी संस्थानको दैनिक सञ्चालन र उपभोक्ताप्रतिको जवाफदेहितालाई पुनः चर्चामा ल्याएको छ ।































