धनुषा – जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुखमाथि एक महिलालाई जबर्जस्ती छुटाउन दबाब दिएको तथा हजारौँ मानिस ल्याएर प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको आरोप निराधार र तथ्यहीन रहेको भन्दै प्रहरी कार्यालयले आपत्ति जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको मिडिया समन्वय शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा धनुषाको हंसपुर नगरपालिका–६, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको नाम जोडेर गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिअनुसार यादवले आफ्नी एक पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। सो सम्बन्धमा प्रहरीले बुझ्दा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट असोज ८ गते नै विवाहको नाता कायम गरिसकेको र असोज १४ गते आफ्ना पतिसँग लागी गएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घटनाबारे निवेदक पक्षलाई जानकारी गराउनुका साथै महिलासँग सम्बन्धित अन्य पारिवारिक सदस्यको प्रत्यक्ष कुराकानी गराई विवाहसम्बन्धी प्रमाणसमेत देखाइएको थियो।
तर, यसै विषयलाई लिएर यादवले आफ्नो पदको दुरुपयोग गर्दै अनुचित दबाब दिएको र प्रहरीले गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोध साँध्ने उद्देश्यले प्रहरी कार्यालयका प्रमुखमाथि अनर्गल तथा तथ्यहीन आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो मञ्जुरीबिना विवाह गरेको भन्दै निजहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिनुपर्ने’ भन्दै दबाब दिइएको र माग पूरा नभए हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिइएको थियो।
जिल्ला प्रहरी कार्यालयले आफू पूर्ण व्यावसायिकता, निष्पक्षता, इमानदारी र लगनशीलताका साथ नागरिकको सेवामा निरन्तर खटिरहेको स्पष्ट पारेको छ। संगठन र कार्यालय प्रमुखको व्यक्तिगत मर्यादामा आँच आउने गरी लगाइएका आरोपप्रति प्रहरीले घोर निन्दा र भर्त्सना गरेको छ।
त्यस्तै, विज्ञप्तिमा आरोपहरू पुष्टि गर्न चुनौती दिँदै भ्रममा नपर्न र अवाञ्छित गतिविधिमा नलाग्न सर्वसाधारणलाई आग्रह गरिएको छ। सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री जथाभावी शेयर नगर्न अनुरोध गर्दै यस विषयमा प्रचलित कानुनबमोजिम उपचारको प्रक्रियामा जाने जानकारीसमेत प्रहरीले दिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरी संगठनको व्यावसायिकता र व्यक्तिगत मर्यादामाथि आक्षेप लगाउने गतिविधिप्रति आपत्ति जनाइएको छ।



























