काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ कार्यक्रममार्फत उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको हो।
प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि मल्लले उक्त सम्मान प्राप्त गरेका हुन्।
एनपीएलमा रन र विकेटको प्रतिस्पर्धासँगै व्यक्तिगत उत्कृष्ट प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले चाँदीको बल प्रदान गर्ने व्यवस्था गरिएको हो। यसले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरित गर्नुका साथै प्रतियोगिताको रोमाञ्च बढाउने अपेक्षा गरिएको छ।
उपलब्ध विवरणअनुसार एनपीएलका आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्। एक्स्ट्रिमको प्रायोजनमा रहेका दुई टोलीबीच खेल हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्ने व्यवस्था गरिएको छ।
एनपीएलका आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये कसले चाँदीको बल प्राप्त गर्छ भन्ने चासो पनि थपिएको छ। शेर मल्ल पहिलो विजेता बनेसँगै प्रतियोगितामा व्यक्तिगत प्रदर्शन र पुरस्कारको आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ।



























