काठमाडौँ – एनआईसी एशिया बैँकले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक गरेको छ । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरूलाई लक्षित उक्त योजना ल्याइएको बैँकले जनाएको छ ।
बैँकले ल्याएको यस योजना अनुसार ग्राहकले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् ।
जसका लागि व्यक्तिगत, संस्थागत र रेमिटेन्स गरी तीन किसममा निक्षेप जम्मा गर्न सकिने बैँकले जनाएको छ । बैँकका अनुसार व्यक्तिगत रुपमा जम्मा गर्दा ग्राहकले ६ वर्ष ४ महिना २५ दिनमा निक्षेपको दोब्बर रकम पाउनेछन् भने संस्थागत रुपमा जम्मा गर्दा ७ वर्ष २ महिना २७ दिन र रेमिटेन्समार्फत जम्मा गर्दा ५ वर्ष १० महिना १४ दिनमा निक्षेप दोब्बर हुनेछन् ।
यस्तै व्यक्तिगत योजनामा जम्मा गरेको निक्षेप २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा हुने र संस्थागत योजनामा जम्मा गर्दा १० गुणा हुन २५ वर्ष ४ महिना २३ दिन लाग्ने बैँकले जानकारी दिएको छ । रेमिटेन्स योजनामा निक्षेत्र जम्मा गर्ने ग्राहकले भने १९ वर्ष १० महिना २ दिनमै १० गुणा निक्षेप पाउन सक्नेछन् ।
यसअघि बैंकले ५ वर्षसम्म कुल रु. ८४ लाखसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो । जसमा ग्राहकको उल्लेख्य सहभागिता रहेको बैँकको भनाई छ ।
बैँकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । देशकै ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल एनआईसी एशिया बैँकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा समेत आफ्नो सेवा विस्तार गरेको छ ।