काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजीको ३५ प्रतिशत बराबर ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ।


ADVERTISEMENT

# #


दोलखा जिल्लामा निर्माण तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट प्रभावित बासिन्दालाई लक्षित गरी निष्कासन गरिएको शेयरमध्ये १० लाख १४ हजार कित्ता बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ४ लाख २२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत हो। श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन्।


ADVERTISEMENT

#
#


कति कित्तासम्म आवेदन दिन पाइन्छ?

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते तोकिएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भने छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म आवेदन खुला रहनेछ।

स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि दुई रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

दुई जलविद्युत आयोजना सञ्चालनमा

हिम पर्वत हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाको कुल जडित क्षमता २५.५ मेगावाट रहेको छ।

कम्पनीका अनुसार २० मेगावाटको साँगु खोला आयोजनाको कुल लागत करिब ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, ५.५ मेगावाटको साँगु खोला–१ आयोजनाको लागत करिब १ अर्ब १५ करोड ४ लाख रुपैयाँ रहेको छ। दुवै आयोजनाले २०८२ सालदेखि विद्युत उत्पादन सुरु गरेका हुन्।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाछुट्टै कोटामा निष्कासन गरिएको यस आईपीओमा तोकिएको समयभित्र आवेदन दिन सकिनेछ।