काठमाडौं – नागरिकताको प्रतिलिपि लिन अब आफूले नागरिकता जारी गराएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट अन्य जिल्लाका नागरिकलाई समेत नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरेको छ।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था लागू गरिएको हो। गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले अब तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन्।
व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन पाउनेछन्। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।
आगलागी, पानीले भिजेर नष्ट भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको लगायतका कारण नागरिकताको प्रतिलिपि लिनुपर्ने सेवाग्राहीले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछन्।
प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ।
तर, अभिलेख नभेटिएका, नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याउनुपर्ने तथा नागरिकता शंकास्पद देखिएका व्यक्तिले भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ।
नयाँ व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकलाई नागरिकताको प्रतिलिपि लिन टाढाको जिल्ला धाउनुपर्ने बाध्यता कम गर्नुका साथै सरकारी सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।




























