काठमाडौँ – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।
आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नं. १ बाट सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका नेपालले चुनाव प्रचार कार्यक्रममा मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै आयोगले कारबाही गर्न रौतहत प्रहरीलाई पत्राचार गरेको हो । यससँगै जिल्ला प्रहरी कार्यालय रौतहटले अध्यक्ष नेपालमाथि अनुसन्धान अघि बढाउने छ ।
रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफू निर्वाचित भएपछि वैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ ।
दफ २० को उपदफा (४) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
प्रहरीले अनुसन्धानपछि अध्यक्ष नेपालविरुद्ध निर्वाचन कसूरमा मुद्दा चल्ने वा नचल्ने भन्नेबारे सुझावसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने छ । सरकारी वकिलको कार्यालले अध्यक्ष नेपालविरुद्ध मुद्दा चलाउने वा नचलाउनेबारे निर्णय गर्नेछ ।
मुद्दा चलाउने निर्णय भए अध्यक्ष नेपालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर हुनेछ । आरोप प्रमाणित भए अदालतले उनीमाथि एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजायको आदेश दिन सक्छ ।