नुवाकोट – नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्यांक संकलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालेका पशुचौपाय तथा पक्षीको तथ्यांक संकलन थालिएको हो ।
त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिए ।
उनका अनुसार तथ्यांक संकलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लिन गाउँ तथा नगरपालिका तोकेर पशु सेवा प्राविधिकलाई खटाइएको छ ।
‘राज्य पुनःसंरचना पछि प्रदेश सरकार स्थापना भएसँगै रूपान्तरित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग जिल्लामा रहेका पशुचौपायको विवरण नभएकाले लगत संकलन गर्न लागिएको हो ।’ उनले भने ।
‘अभियानमार्फत दुई जिल्लाको पालिकागतरूपमा घरपालुवा पशुचौपाय र पक्षीको संख्या, जात, उमेर, लगानीसहितको विवरण खोज्न लागिएको छ ।’ साविक जिल्ला पशु सेवा कार्यालयले हरेक आर्थिक वर्षमा पशुचौपाय तथा पक्षीको लगत संकलन र अद्यावधिक गर्ने गरेको थियो ।
प्रदेश सरकारको स्थापना पछि पहिलो पटक तथ्यांक संकलन गर्न लागिएकाले यथार्थ विवरण संकलन गर्न खटिएका संकलकलाई केन्द्र प्रमुख पाण्डेले निर्देशन दिए ।
पाण्डेका अनुसार संकलन गर्न लागेको विवरणबाट नुवाकोट र रसुवामा पालिएका पशुचौपाय तथा पक्षीसँग सम्बन्धित योजना तर्जुमा गर्न, रोग फैलिएमा नियन्त्रण गर्न, पकेट क्षेत्र घोषणा गर्न, व्यावसायिक पशुपालनको वस्तुस्थितिसहित त्यसमा किसानको लगानी केकति रहेको छ त्यो समेत थाहा पाउन सकिने प्रश्नावली र अनुसूची समावेश गरिएको छ ।
आजदेखि कार्यक्षेत्रमा पठाइएका तथ्यांक संकलक पशु सेवा प्राविधिकलाई आगामी मंसिर १५ भित्र लगतको विवरण विज्ञ केन्द्रमा बुझाउन समयसीमा तोकिएको छ ।