अछाम – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर कुँवरले आफू जनतालाई झुट्टा आश्वासन दिएर भ्रममा पार्ने पक्षमा नरहेको बताएका छन् ।
मंगलबार अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कुँवरले आफू निष्ठा र ईमान्दारीताको राजनीति गर्ने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ दिएको बताएका हुन् ।
उनले ईमानदारीताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेद्वारलाई बहुमतले विजयी गराउन समेत आग्रह गरे । मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका ईमान्दार उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध पनि गरे ।
अछामका जनताकै साथले आफु राजनीतिमा रहेको बताउँदै उनले संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि सत्ता गठबन्धन बनेको बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोविन्द बन्दीले यसपटकको चुनाव चुनाव मात्रै नभई नेपालको अग्रगामी परिर्वतन, संविधानको रक्षा र लोकतन्त्रको विकासका लागि भएको बताए । उनले गठबन्धनका उम्मेदवारप्रति अछामका जनताको ठुलो साथ सर्मथन रहेकाले विजयी सुनिश्चित रहेको बताए।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहले गठबन्धनका उम्मेदवार विरुद्ध जाने नेता,कार्यकर्ताहरु कांग्रेस बन्न नसक्ने बताए।
कार्यक्रममा बोल्दै कांग्रेस प्रदेश महामन्त्री एवम् सत्ता गबन्धनबाट अछाम १ मा प्रदेश सभाका उम्मेदवार मेघराज खड्काले अछामको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
यस्तै प्रदेस सभा ‘ख’ का उम्मेदवार झपट साउँदले आफ्नो क्षेत्र पछाडि परेकाले निर्वाचित भएमा आर्थिक र भौतिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने प्रतिवद्धता जनाए।