काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीका क्रममा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकमा पन्तले राष्ट्रपतिको सवारीका क्रममा सडक जामको विषयलाई लिएर राष्ट्रपति, सरकार र सांसदप्रति गालीगलौज भएको भन्दै यसमा दोष राष्ट्रपतिको नभइ सरकार र सुरक्षा संयन्त्रको भएकाले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘दोष राष्ट्रपतिको होइन । योभन्दा अगाडि रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको पालामा पनि पटकपटक यसरी आलोचना भयो र आफ्नो यात्राको प्रक्रियालाई सरल बनाइयोस् भनेर कुरा गर्नुभयो । अहिलेको राष्ट्रपतिले पनि त्यो प्रयत्न गर्नुभयो ।’

उनले सडक जामका क्रममा नागरिकको गाली सुन्न नसकेर लोगो छोप्नु परेको र मास्क लगाउनुपरेको जिकिर गरे । सडकमा सवारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘सरकारले यो सवारी चलाउने मापदण्डलाई लोकतन्त्र अनुकुल खुकुलो र सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त बनाउने कुरा उठ्दा सरकारले ध्यान दिएको छैन । सरकारले उपयुक्त पाइला नचाल्ने तर राष्ट्रपतिजस्तो गरिमामय संस्था आलोचना भोग्नुपर्ने स्थिति आफैमा सुखद होइन ।’

पन्तले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनलाई उपयुक्त तवरले व्यवस्थापन गर्न प्रधानमन्त्री गम्भीर हुनुपर्ने पनि बताए ।