राहुल गुप्ता, बारा – बाराको फेटा गाउँपालिका–३ स्थित नवनिर्मित फेटा अस्पतालको समुद्घाटन कार्यक्रममा दुई पक्षबीच भएको विवाद तथा झडपको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले २०८३ कात्तिक १४ गते जारी गरेको पत्रअनुसार अस्पताल उद्घाटन कार्यक्रममा स्थानीय दुई पक्षबीच वादविवाद तथा झडपको अवस्था सिर्जना भएको थियो। उक्त घटनामा स्थानीय आदित्य पासवानसहित केही व्यक्ति घाइते भएको उल्लेख गरिएको छ।
घटनापछि शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरी टोलीले घटनालाई नियन्त्रणमा लिएको थियो। घटनाको वास्तविकता पत्ता लगाउन तथा सत्यतथ्य विवरण संकलन गर्न प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज, पर्साका प्रहरी निरीक्षक जगतशंकर यादव सदस्य रहेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले समितिलाई घटनास्थलमा पुगेर स्थलगत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन यथाशीघ्र पेस गर्न निर्देशन दिएको छ।
यस घटनाको निष्पक्ष छानबिनपछि विवादको वास्तविक कारण र घटनामा संलग्न पक्षबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।


























