काठमाडौं – नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि अनिवार्य रूपमा सडक दस्तुर तिर्नुपर्ने भएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने व्यवस्थाअनुसार सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनले तोकिएको शुल्क बुझाउनुपर्नेछ । नेपाल राजपत्रमा प्रकाशित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ बुझाउनुपर्नेछ ।


ADVERTISEMENT

#


आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार प्रारम्भिक चरणमा नगद तथा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा शुल्क संकलन गर्ने तयारी गरिएको छ ।

सुरुङमार्गमा सेवा प्रदायक कम्पनीका कर्मचारी परिचालन गरी शुल्क संकलन गरिनेछ । संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुने र यसको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् । सुरुङमार्ग सञ्चालनलाई व्यवस्थित बनाउँदै नियमित मर्मत तथा व्यवस्थापनका लागि सडक दस्तुर लागू गरिएको आयोजना पक्षले जनाएको छ ।


ADVERTISEMENT

#
#