काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र कुन कुन मन्त्रालयमा जाने भन्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएका हुन् ।
उनले भने, ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले विश्वासको मत लिएलगत्तै ४–५ दिनमा यसलाई हामीले टुंग्याउँछौँ भन्नु भएको थियो । त्यही गतिमा काम भइरहेको छ । मलाई लाग्छ, अबको २–३ दिनमा टुंगिन्छ ।’ उनले कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको ठोकुवा गरे ।
उनले भने, ‘नेपाली काँग्रेस मात्रै होइन, कुनै पनि दलले कुन मन्त्रालय लिएर काम गर्ने भनेर दाबी वा अन्तिम निर्णय भइसकेको छैन । सबै कुरा छलफलको क्रममा छ ।’
खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको विषयलाई कुनै विवाद नरहेको दाबी गरे । उनले दुई तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए ।