काठमाडौं-अवैध हुन्डी कारोबारको आरोपमा सम्पत्ति शुद्धीकरण विभागद्वारा पक्राउ परेका विराटनगरका अनुप सेठियासहित तीनजना मंगलबार जेल चलान भएका छन् । जिल्ला अदालत मोरङको आदेशअनुसार मुख्य आरोपी अनुप सेठियासहित उनका भतिजा ललित सेठिया र भारतीय नागरिक पंकज कर्ण मोरङ कारागार चलान भएका हुन् ।


ADVERTISEMENT


सम्पत्ति शुद्धीकरण विभागले धरौटीमा छाडेपछि उनीहरूलाई मोरङ प्रहरीले काठमाडौंबाट विराटनगर ल्याएर अदालतमा पेस गरेको थियो । सोही आरोपमा पक्राउ परेका विराटनगर–१० का विमल चिरानिया भने सम्पत्ति शुद्धीकरणमा ४६ लाख र मोरङ अदालतमा साढे तीन लाख धरौटी तिरेपछि बाहिरै बसेर मुद्दा पुर्पक्ष गर्ने गरी रिहा भएका छन् ।


ADVERTISEMENT

# # #


मोरङ अदालतको आदेशअनुसार २७ मंसिरमै प्रस्तुत ठगी मुद्दाका आरोपीहरू सुनसरी दुहबीका श्रवणकुमार विश्वास, बलराम विश्वास र सनीदेवल विश्वास कारागार चलान भइसकेका थिए । विराटनगर–७ मेन रोडस्थित आफ्नै घरमा सेठिया मार्केट नामको कार्यालय स्थापना गरी अनुप सेठियाले वर्षौंदेखि अवैध रूपमा हुन्डीको कारोबार गर्दै आएको प्रहरीको आरोप छ ।

५५ वर्षीय अनुप सेठियासहित उनका भतिजा ४० वर्षीय ललित सेठिया र सहयोगीहरू २७ वर्षीय श्रवणकुमार विश्वास, सुनसरी दुहवी भलुवा नपा–६ का २९ वर्षीय बलराम विश्वास, सनीदेवल विश्वास र भारत विहार दरभंगा सुन्दरपुर–२ का ३७ वर्षीय पंकज कर्णलाई २७ कात्तिकमा मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूलाई प्रहरीले ८६ लाख ५९ हजार नगदसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबैविरुद्ध ठगी आरोपमा प्रहरीले जिल्ला अदालत मोरङमा र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सेठियाद्वय, विराटनगरका विमल चिरानिया र भारतीय नागरिक पंकज कर्णमाथि सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा दर्ता गरिएको थियो ।

विभागले भारतीय नागरिक पंकज कर्णबाहेक सबैलाई डेढ करोडबराबरको धरौटीमा मुद्दा पुर्पक्ष गर्न पाउने गरी छाडेकोे थियो । कर्णलाई भने विभागले सफाइ दिएको थियो ।