काठमाडौं – नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत उनले मंगलबार बिहान १०ः१५ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोल हेड क्वार्टरको झण्डा फहराउन सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरु हस्तान्तरण गरेका थिए । जस अनुसार प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीसहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरुविरुद्ध ऐक्यवद्धता रहेको सन्देश दिएको नेपाल प्रहरीले जनाएइको छ । साथै नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास प्रहरीले व्यक्त गरेको ।

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

नेपाल प्रहरीको टोलीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको थियो । यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले व्यक्त गरेको छ ।