रामचन्द्र पाण्डे, काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कारसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालनले पीडितको उमेर खुल्ने कागजात पेश गर्न आदेश दिएको छ । आइतबार फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले पीडितको उमेर खुल्ने प्रमाण बुझ्न आदेश दिएको हो ।


ADVERTISEMENT


यसअघि स्थानीय तह र अस्पतालले पीडितको जन्ममिति खुल्ने गरी पठाएको कागजात स्पष्ट हुन नसकेको भन्दै अदालतले पुनः पठाउन भनेको हो । सन्दीप पक्षका वकिलले पीडित नाबालिका नरहेको स्पष्ट हुँदा हुँदै अदालतले अनावश्यक लफडा झिकेर मुद्दालाई लम्ब्याउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT

# # #


सन्दीपले गतवर्ष भदौ ५ गते राती गौशालाको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै एक नाबालिकाले उजुरी दिएकी थिइन् । सोही अनुसार असोज २० गते पक्राउ परेका सन्दीपलाई कार्तिक १८ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका थिए । पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सोही अनुसार सन्दीप पस २९ गते थुनामुक्त भएको थिए । तर, उक्त आदेशविरुद्ध सन्दीप र पीडित दुवै पक्ष सर्वोच्च अदालत पुगेका थिए ।

सन्दीप पक्षले खेल्नका लागि विदेश समेत जान पाउनुपर्ने र धरौटी रकम कम गर्नुपर्ने माग राखेका थिए । यता पीडितको पक्षबाट महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई पुनः पुर्पक्षका लागि थुनामा पठाउन माग गरेको थियो ।

तर, सर्वोच्च अदालतले सन्दीपको पक्षमा आदेश दिँदै विदेश घुम्न जाने बाटो खोलिदिएको थियो भने काठमाडौँ जिल्ला अदालतलाई फास्ट ट्रयाकमा मुद्दाको अन्तिम किनारा लगाउन आदेश दिएको थियो ।

धरौटीमा थुनामुक्त भएपछि सन्दीप नेपाली राष्ट्रिय टोलीमा फर्किएर प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । यसबीचमा उनले नेपाललाई एकदिवसीय मान्यता जोगाएर विश्वकपमा पुर्याउन तथा एसीसी प्रिमियर कपको विजेता बनाउँदै एशिया कपमा छनोट गराउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

नेपालले आगामी जुन १८ देखि जिम्बाब्बेमा एकदिवसीय क्रिकेट विश्वकप छनोट खेल्दैछ । त्यसका लागि सन्दीप नेपालको २२ सदस्यीय प्रारम्भिक टोलीमा समेत परिसकेका छन् । त्यसमा सहभागिता जनाउन सन्दीप पक्ष जिल्ला अदालतले चाँडो भन्दा चाँडो मुद्दाको अन्तिम किनारा लगाओस् भन्ने चाहन्छ ।