काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा लामिछानेले मुलुकको आर्थिक अवस्थाका बारेमा सबै दलहरु गम्भीर हुनुपर्ने भन्दै आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपपयोग नगर्न आग्रह गरेका हुन् । उनले नीति तथा कार्यक्रममार्फत मुलुकको वर्तमान अवस्थाको इमान्दरीतापूर्वक समिक्षा हुनुपर्ने धारणा राखे ।
५ महिना सरकार गठन र पुनर्गठनमा व्यतित भएको र आर्थिक बृद्धि अत्यन्तै न्यून भएको तथ्यलाई आत्मसाथ गरेर मात्रै कार्यक्रम आउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ । सभापति लामिछानेले अर्थतन्त्र गम्भीर अवस्थामा रहदा पनि यसलाई राजनीतिक तथा प्रशासनिक नेतृत्वले गम्भीरतापूर्वक लिएको नदेखिएको तर्क गरे । अरुलाई मितव्ययीको सुझाव दिने सरकार आफैले फजुल खर्चमा प्रोत्साहन गरिरहेको देखिएको उनले बताए ।
उनले अहिलको करको दायरा हेर्दा राजनीतिक दल र नेतासंग निकट भएका व्यवसायीहरुसंग प्रभावित भएजस्तो देखिएकाले यसलाई सम्बोधन गर्ने कुनै शव्द नरहेको जिकिर गरे । उनले रास्वपाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएपनि विरोधका लागि विरोध नगर्ने तर सरकारले गलत गरेको छ भने सदन र सडकमा उठाउन तयार रहेको स्पष्ट पारे ।