काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृति गरेको जानकारी दिइन् । “आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ”, उनले भनिन् ।
आजै अपराह्न ४ बजे बस्ने संसद्को बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट पेस गर्दै गर्दैछन्। त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी जेठ १७ देखि हुन लागेको छिमेकी मुलुक भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित पाँच मन्त्रीको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्रीले जानकारी दिइन् । उनले, “प्रधानमन्त्री नेतृत्वको टोलीको भारत भ्रमणसम्बन्धी मन्त्रिपरिषद्ले आज औपचारिकरुपमा स्वीकृत गरेको छ ।”
हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।