काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख स्पिनर सन्दीप लामिछानेले आगामी जुन १८ देखि जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली टोलीको दक्षिण अफ्रिकामा हुने तयारी गुमाउने भएका छन् ।
नाबालिका बलात्कारसम्बन्धी मुद्दाका कारण अदालतमा हाजिर हुनुपर्ने भएकाले सन्दीपले दक्षिण अफ्रिका भ्रमण छुटाउने भएका हुन् । सन्दीपविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको सुनुवाई आजै हुने तालिका थियो । तर, सुनसवाई स्थगित भएपछि सन्दीपलाई उनका कानुन व्यवसायीले दक्षिण अफ्रिका नजान सुझाएसँगै सन्दीपले उक्त भ्रमण छुटाउने भएका हुन् ।
दक्षिण अफ्रिका नजानेभएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘मलाई तपाईंहरू र तपाईंको क्षमतामा विश्वास छ। तपाईहरु सबैले नेपाली क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामू आफ्नो क्षमता देखाउनुभएको छ । अब फेरि तपाइँ सबैको लागि आफ्नो क्षमतामा विश्वास गर्ने समय आएको छ । तपाईंहरु जहाँ जानुहुन्छ आफ्नो उत्कृष्ट दिनुहोस् । टोलीलाई सफलता र सुरक्षित यात्राको शुभकामना ।’
विश्वकप छनोटका लागि नेपाली टोलीले दक्षिण अफ्रिकामा १० दिनको तयारी गर्दैछ । त्यहाँ नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसँग १–१ अभ्यास खेल खेल्ने तालिका रहेको छ भने दक्षिण अफ्रिकाको स्थानीय टोलीसँग पनि केही अभ्यास खेल हुने जनाइएको छ ।
त्यसका लागि नेपाली टोली आजै दक्षिणअफ्रिका प्रस्थान गर्दैछ । तर, सन्दीप भने मुद्दाका कारण जान नसक्ने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि घोषणा गरेको १६ सदस्यीय नेपाली टोलीमा सन्दीप पनि छन् ।
मुद्दाको सुनुवाई भए सन्दीप विश्वकप छनोटका लागि सोझै जिम्बाब्बे जानेछन् । १० राष्ट्र सम्मिलत विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ नेपालले टेस्ट राष्ट्र जिम्बाब्बे र वेष्टइण्डिज तथा नेदरल्याण्ड र अमेरिकाको सामना गर्दैछ । समूह चरणको उत्कृष्ट ३ मा पर्नसके नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ । सुपर सिक्समा विपक्षी समूहबाट आएका ३ टोलीसँग खे्रल्नेछ । जहाँ उत्कृष्ट २ भित्र पर्न सके यही वर्ष भारतमा हुने एकदिवसीयमा नेपालले स्थान बनाउने छ ।
सन्दीपले यसअघि गत मार्चमा सम्पन्न विश्वकप छनोटमा शानदार प्रदर्शन गर्दै नेपाललाई एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । यस्तै गत वैशाखमा नेपालमै भएको एसीसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल यही वर्ष हुने एशिया कपमा छनोट हुँदा सन्दीप ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका थिए ।
मुख्य खेलाडी रहेको सन्दीप विश्वकप छनोटमा अनुपस्थित रहे भने नेपाललाई प्रतियोगितामा गाह्रो पर्ने छ ।