काठमाडौँ– एसियाली खेलकुदको तयारी र व्यबस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ ।
चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यबस्थापनका स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका हुन् । सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुल क्षेत्रको विकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले यस क्षेत्रमा बजेट कम हुन नलिन आफु लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए । एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागि उठेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए । धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भइरहेको उनले जनाए । विशेष तालिमका लागि बिशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरि अघि बढ्ने उनले बताए ।
सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने उल्लेख गरे । आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदैछ ।