काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओपनिङ ब्याटर कुशल भुर्तेलले आईसीसी क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा आयोजक जिम्बाब्बेविरुद्ध शतक बनाउन चुकेका छन् ।
जिम्बाब्बेको हरारेस्थित हरारे स्पोर्टस् क्रिकेट मैदानमा भइरहेको खेलमा कुशल शतक बनाउन १ रनले चुकेका हुन् । उनले ९५ बलमा १३ चौका र २ छक्काको मदतमा ९९ रन बनाउँदा आउट भएका हुन् । यससँगै नेपालले पहिलो विकेट गुमाएको छ ।
यद्दपि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशल र आशिफ शेखले राम्रो सुरुवात दिलाएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ३२ ओभर खेल्दा १ विकेटको क्षतिमा १७१ रन बनाएर खेलिरहेको छ । जसक्रममा आशिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । उनी ६५ रन बनाएर खेलिरहेका छन् ।
नेपालले एकदिवसीय क्रिकेटमा नेपालको यो सर्वाधिक ओपिनिङ साझेदारी हो । यसअघि कुशल र आशिफले नै सन् २०२२ मा ओमानविरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । १० राष्ट्र सम्मिलित विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ नेपालले आयोजक जिम्बाब्बे, वेष्ट इण्डिज, नेदरल्याण्ड र अमेरिकासँग खेल्दैछ । यस्तै समूह ‘बी’मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।
विश्वकप छनोटका शीर्ष दुई टोली यही वर्ष भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपालले सन् २०१९ देखि सुरु भएको ७ राष्ट्र सम्मिलित विश्वकप लिग–२ को शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो । जहाँ नेपालले आफ्नो अन्तिम १२ मध्ये ११ खेल जितेर अविश्वसनीय प्रदर्शन गरेको थियो । विश्वकप छनोटमा पनि नेपालले त्यही प्रदर्शनलाई जारी राख्ने लक्ष्य राखेको छ ।