काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले ३३ तथा आदित्य महताले अविजित ३० रन बनाए । त्यस्तै सेफ हसनले २८ र तृतराज दासले १८ रन जोडे । तर, मध्यक्रमका ब्याटर चल्न नसक्दा जनकपुर लक्ष्यसम्म पुग्न सकेन ।
लुम्बिनीका बलर डार्सी सर्टले सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाउँदा निरोशन डिकवेलाले २७ रन जोडे । आसिफ शेख र दिलीप नाथले समान २१ रनको योगदान दिए ।
जनकपुरका विशाल सुशीलिङ र राहुल यादवले समान २ विकेट लिए ।
यस जितसँगै चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा कायम छ । तीन खेलमा जित र एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीको प्लेअफ यात्रा बलियो बनेको छ । पाँच खेल खेलेको जनकपुर भने तीन हारसहित दबाबमा परेको छ । प्लेअफको सम्भावना कायम राख्न उसले बाँकी दुवै खेल जित्नुपर्ने भएको छ ।


























