काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाकै कारण सरकारले भ्रष्टाचारका फाइल खोलेको दाबी गरेका छन् । सोमबार सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलालाई सम्बोधन गदै सभापति लामिछानेले उक्त दाबी गरेका हुन् ।
उनले रास्वपाको उपस्थितिले मात्रै पनि सदनदेखि सरकारसम्म होसियारी देखिएको र अन्य पार्टीहरुमा समेत सक्रियता देखिएको जिकिर गरे । उनले भने, ‘जुन किसिमले रासवा भ्रष्टाचारको विरुद्धमा घण्टी बजाउँदै अगाडि आयो, सम्भवतः त्यो आगमनले कहीँ न कहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्नमा प्रेरणा दिएकै छ । र लागेको हुनसक्छ, अहिले खोलिएन भने २०८४ सम्म त के हो के हो !’
रास्वपाले निर्वाचन अघि भनेका एजेण्डामा सरकारले काम गरे आफूहरुलाई आगामी दिनमा सजिलो हुने बताउँदै उनले सरकारले पछिल्लो समय राम्रा काम गरिरहेकाले त्यसमा दुःखी हुनुपर्ने कुनै कारण नभएको तर्क गरे ।