काठमाडौँ – बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली काँग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ । तर, आफ्नै सांसद पक्राउ हुँदा समेत नेपाली काँग्रेस बेखबर बनेको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको नेपाली काँग्रेस संसदीय दलको कार्यसमितिको बैठक बसेको थियो । उक्त बैठक सकिएपछि बोल्दै काँग्रेसका मुख्य सचेतक रमेश लखकले सांसद शर्मा पक्राउ पर्नुको कारण औपचारिक रुपमा थाहा नभएको बताएका हुन् ।
उनले भने, ‘यसबारे हामीलाई भर्खरै जानकारी भएको छ । के विषयमा, के कारणले, किन उहाँलाई पक्राउ गरिएको हो भन्नेबारेमा हामी जानकारी लिइराखेका छौँ । त्यो थाहा पाइसकेपछि मात्रै हामी आफ्नो धारणा सार्वजनिक गर्छौं ।’ संसदको अधिवेशन चलिरहेको बेलामा कुनै पनि सांसदलाई पक्राउ गरेमा सम्बन्धित सदनको सभामुख वा अध्यक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था भएकाले सभामुखलाई जानकारी दिइएको छ कि छैन भन्ने बुझ्न खोजिरहेको उनले बताए ।
संसद चलिरहेका बेला देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने भएकाले सांसद शर्मालाई सरकारवादी कुन फौजदारी मुद्दा र कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी नआई बाँकी कुरा भन्न नमिल्ने बताए ।
प्रधानमन्त्रीले यसबारेमा जानकारी गराएका छन् कि छैनन् भन्ने प्रश्नको जवाफमा लेखकले भने, ‘छैन । योबारेमा बैठकमा केही चर्चा भएको छ । सभामुखबाट पनि र पक्राउ गर्ने निकायबाट यसबारे जानकारी लिन्छौँ ।’ उनले यसबारे अहिले अनुमानका भरमा नबोल्ने बताए ।
त्यस्तै बैठकमा शुक्रबार बस्ने संसदीय दल बैठकको एजेण्डमाथि छलफल भएको जानकारी दिए । दल बैठकमा सदनको अवरोध, बजेटका विषय, विधेयक लगाएतका बिषयमा छलफल हुने लेखकले बताए ।
लेखकले सदनको अवरोध अन्त्य गर्न कांग्रेसले निरन्तर प्रयास गरेको र सवै दलसंग छलफलमा नै रहेको बताए ।