काठमाडाैँ – नेकपा एमालेले मंगलबार दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ ।
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन् । पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन् । त्यस्तै जनता समाजवादीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, संविधानविद् नीलाम्बर आचार्य पनि वक्तामा रूपमा छन् ।
बाँकी ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ। कोशी प्रदेशमा इलाममै गोष्ठी हुने एमालेले बताएको छ । नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाँदै छन् ।
लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाँदै छन् ।
नेम्वाङको भदौ २६ गते निधन भएको थियो। नेम्वाङ एमाले उपाध्यक्षसमेत थिए ।